Contact: (977) 9819267790
चुम्बक (Magnet)

चुम्बक (Magnet)

1) चुम्बकीय शक्ति (Magnetic Energy) भनेको के हो?

=> चुम्बकमा संचित भएर रहेको शक्तिलाई चुम्बकीय शक्ति भनिन्छ।

2) चुम्बकत्व (Magnetism) भनेको के हो?

=> चुम्बकमा हुने चुम्बकीय शक्तिलाई चुम्बकत्व भनिन्छ।

=> चुम्बकमा हुने विशेष गुणलाई चुम्बकत्व भनिन्छ।

3) चुम्बकको उपयोगिता लेख्नुहोस्।

=> भुइँमा छरिएका फलामका कणहरु टिप्न।

=> आँखा वा कानमा परेका फलामका कणहरु निकाल्न।

=> रेडियो, मोबाइल, कम्प्युटर, टेलीफोन आदि आधुनिक विद्युतिय उपकरणमा प्रयोग गर्न।

=> डाइनामो, जेनेरेटर आदिबाट विद्युत उत्पादन गर्न।

=> विद्युत मोटर चलाउन।

4) चुम्बकका गुणहरु लेख्नुहोस्।

=> i) आकर्षण गुण: चुम्बकले चुम्बकीय बस्तुहरु फलाम, कोबाल्ट र निकेललाई आँफुतिर आकर्षण गर्छ।

=> ii) दिशा सुचक गुण: एउटा छड चुम्बकलाई स्वतन्त्रतापूर्वक घुम्न सक्ने गरी झुन्ड्याइयो भने वा प्लास्टिकको बट्टामा राखेर पानीमा तैराइयो भने यसको एक छेउ पृथ्वीको उत्तर र अर्को छेउ पृथ्वीको दक्षिण दिशा तिर तेर्सिएर बस्छ।

=> iii) चुम्बकीय शक्ति छेउतिर बढी हुने गुण: चुम्बकको शक्ति छेउतिर केन्द्रीत हुन्छ। बिचतिर चुम्बकको शक्ति कम हुँदै जान्छ र ठिक बिचमा त चुम्बकको शक्ति निकै कम हुन्छ।

=> iv) समान ध्रुवहरु विकर्षण र असमान ध्रुवहरु आकर्षण हुने गुण: दुई ओटा चुम्बकहरुका समान ध्रुवहरु N र N वा S र S एक अर्कोको नजिक लग्दा विकर्षण हुन्छ। तर, दुई ओटा चुम्बकहरुका असमान ध्रुवहरु N र S वा S र N एक अर्कोको नजिक लग्दा आकर्षण हुन्छ।

=> v) ध्रुवहरु नछुट्टिने गुण: प्रत्येक चुम्बकमा एउटा उत्तरी र अर्को दक्षिणी गरि दुई ओटा ध्रुवहरु हुन्छन्। यी ध्रुवहरु कहिल्यै छुट्टिदैनन्।

5) चुम्बकको आकर्षण गुण भनेको के हो?

=> चुम्बकले चुम्बकीय वस्तुहरु आफूतिर तान्ने गुणलाई चुम्बकको आकर्षण गुण भनिन्छ।

6) चुम्बकको दिशा सूचक गुण भनेको के हो?

=> स्वतन्त्रतापूर्वक घुम्न सक्ने गरी राखिएको चुम्बकको एक छेउ उत्तर र अर्को छेउ दक्षिण फर्केर बस्ने गुणलाई चुम्बकको दिशा सूचक गुण भनिन्छ।

=> चुम्बकको उत्तर र दक्षिण दिशा देखाउने गुणलाई दिशा सूचक गुण भनिन्छ।

7) टेबुलमा राखिएको छड चुम्बक किन उत्तर र दक्षिण फर्केर बस्दैन?

=> स्वतन्त्रतापूर्वक घुम्न सक्ने गरी झुन्ड्याइयो भने वा प्लास्टिकको बट्टामा राखेर पानीमा तैराइयो भने मात्र छड चुम्बकको एक छेउ पृथ्वीको उत्तर र अर्को छेउ पृथ्वीको दक्षिण दिशा तिर तेर्सिएर बस्छ। टेबुलमा राखिएको अवस्थामा छड चुम्बक स्वतन्त्रतापूर्वक घुम्न पाउँदैन, त्यसैले टेबुलमा राखिएको छड चुम्बक उत्तर र दक्षिण फर्केर बस्दैन।

8) कम्पास कसरी बनाइन्छ?

=> दुवैतिर चुच्चो परेको सानो चुम्बकको बिच बिन्दु एउटा सियोको टुप्पोमा अड्याई बट्टामा राखेर कम्पास बनाइन्छ।

9) चुम्बकीय ध्रुव (Magnetic Pole) भनेको के हो?

=> चुम्बकको छेउ तिरको विन्दु जहाँ चुम्बकीय शक्ति केन्द्रित हुन्छ, त्यस विन्दुलाई चुम्बकीय ध्रुव भनिन्छ।

10) समान ध्रुव भनेको के हो?

=> एउटा चुम्बकको उत्तरी ध्रुव(N) र अर्को चुम्बकको पनि उत्तरी ध्रुब(N) लाई समान ध्रुव भनिन्छ।

=> एउटा चुम्बकको दक्षिणी ध्रुव(S) र अर्को चुम्बकको पनि दक्षिणी ध्रुब(S) लाई समान ध्रुव भनिन्छ।

11) असमान ध्रुव भनेको के हो?

=> एउटा चुम्बकको उत्तरी ध्रुव(N) र अर्को चुम्बकको दक्षिणी ध्रुब(S) लाई असमान ध्रुव भनिन्छ।

12) चुम्बकलाई फलामको धुलोमा लट्पटाउँदा यसको छेउतिर बढी फलामको धुलो टाँसिएको हुन्छ, किन?

=> चुम्बकको छेउतिर धेरै नै शक्ति केन्द्रित(जम्मा) हुन्छ तर बिचतिर शक्ति कम हुँदै गएर ठिक बीचमा त शक्ति निकै कम हुन्छ। त्यसैले चुम्बकलाई फलामको धुलोमा लट्पटाउँदा यसको छेउतिर बढी फलामको धुलो टाँसिएको हुन्छ।

13) चुम्बकीय वस्तु (Magnetic Substance) भनेको के हो?

=> चुम्बकले आकर्षण गर्न सक्ने वस्तुलाई चुम्बकीय वस्तु भनिन्छ। जस्तै: फलाम, कोबाल्ट र निकेल।

14) अचुम्बकीय वस्तु (Non-Magnetic Substance) भनेको के हो?

=> चुम्बकले आकर्षण नगर्ने वस्तुलाई अचुम्बकीय वस्तु भनिन्छ । जस्तै: सुन, चाँदी, पित्तल, काठ, प्लास्टिक, रबर।

15) चुम्बकीय लम्बाइ भनेको के हो?

=> चुम्बकका ध्रुवहरु बिचको लम्बाइलाई चुम्बकीय लम्बाइ भनिन्छ।

Note: चुम्बकको टुप्पोमै ध्रुव हुँदैन। चुम्बकको टुप्पोभन्दा अलिकति भित्र यसको ध्रुव रहेको हुन्छ।

16) चुम्बकको लम्बाइ भनेको के हो?

=> चुम्बकको दुई छेउ बिचको लम्बाइको नापलाई चुम्बकको लम्बाइ भनिन्छ।

Note: चुम्बकीय लम्बाइ भन्दा चुम्बकको लम्बाइ सधैं धेरै हुन्छ।

17) चुम्बकीय क्षेत्र (Magnetic Field) भनेको के हो?

=> चुम्बकको वरिपरि चुम्बकले असर गर्ने सम्मको क्षेत्रलाई चुम्बकीय क्षेत्र भनिन्छ।

Note: एउटा कम्पास निडलको सहायताले कुनै छड चुम्बकको चुम्बकीय क्षेत्र पत्ता लगाउन सकिन्छ।

18) कस्तो चुम्बकको चुम्बकीय क्षेत्र ठुलो हुन्छ?

=> ठुलो र शक्तिशाली चुम्बकको चुम्बकीय क्षेत्र ठुलो हुन्छ।

Leave a Reply